काठमाडौँ। चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्। नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले डा.रुइतलाई राष्ट्रपति बनाउन सके नेपालको प्रतिष्ठा नै बढ्ने बताएका छन्। रुइतले नेपालीको मात्र होइन, संसारकै ज्योतिविहीनहरूको आँखाको उज्यालो छरेकाले उनलाई राष्ट्रपति बनाउनुपर्ने जिकिर गरेका हुन्।
‘मनमा कुरा घुमिरहन्छ। यो देशको अबको रास्ट्रपति नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला। जसले नेपालीको मात्र नभई संसारकै ज्योतिविहीनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध सावित गर्नुभयो।
त्यसको मूल्यांकन गरी उहाँलाई संसारले नै सम्मान गरिरहेको छ। यसैअन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको (इसा अवार्ड) बाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको छ,’ आचार्यले लेखेका छन्। यस्तो छ आचार्यको स्टाटस-
मनमा कुरा घुमी रहन्छ। यो देशको अबको रास्ट्रपति नेत्र बिषेशज्ञ डा शन्नदुक रुइतलाई बनाउन पाए नेपालकोनै प्रतिष्ठा बड्ला ।जस्ले नेपालीकोमात्र नभई संसारकै ज्योति बिहिनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध साबित गर्नुभयो ।
त्यसको मुल्याङ्कन गरी उहाँलाई संसारले नै सम्मान गरीरहेको छ ।यसै अन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको ,इसा अवार्ड, बाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्सित भएको छ ।उता नेत्र चिकित्सक डा. सन्दुक रुइतले विश्व–प्रतिष्ठित इशा अवार्ड पाएका छन्।
बहराइनका पूर्वराजा शेख इशा विन सलमान अल खालिफाको नाउमा स्थापित इशा अवार्डबाट पुरस्कृत गर्न लागिएको अधिकारीहरूले जनाएका छन्। उनी मोतियाबिन्दूको उपचारका लागि नयाँ विधि अपनाएर विश्वप्रसिद्ध छन्। अरब जगतमा पहिलोपटक आयोजना हुने यो पुरस्कार विजेता डा. रुइतले १० लाख अमेरिकी डलर अर्थात् १३ करोड ८ लाख रुपैयाँ पाउनेछन्। इशा अवार्ड पाउने डा. रुइत पाँचौं व्यक्ति हुन्।
यसअघि मलेसियाकी चिकित्सक जमिला महमुद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको इदी फाउन्डेसन (सन् २०१९) लाई यो अवार्ड प्रदान गरिएको उल्लेख छ।
हरेक दुई वर्षमा प्रदान गरिँदै आएको इशा अवार्डले विपद् रोकथाम, शिक्षा–स्वास्थ्य र मानवीय सेवातर्फका व्यक्तिलाई समेट्छ। मानवीय सेवा तर्फको इसा अवार्डबाट नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सम्मान गर्ने निर्णय गरेकाे बहराइनी राजाका विशेष प्रतिनिधि तथा बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले बताएका छन्।
विश्व–प्रतिष्ठित इशा अवार्डसँगै डा. रुइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार समेत पाइसकेका छन्। उनले आफ्नै हातले डेढ लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्। डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको नयाँ लेन्स विश्वकाे कुना–कुनामा पुगेकाे छ, जसले गर्दा गरिवहरूले पनि संसार देख्न पाएका छन्।
Leave A Comment