Latest
img

मन्त्री विक्रम पाण्डेकाे कन्स्ट्रक्सन ५ वर्षमा ६ किलाेमिटर सडक कालाेपत्रे गर्याे

सल्यान ।नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेकाे कालिका कन्स्ट्रक्सनले लिएका अधिकांश ठेक्का समयमा सकिएका छैनन् । उनै मन्त्री पाण्डेकाे कालिका कन्स्ट्रक्सनले मदन भण्डारी राजमार्गअन्तर्गत तुलसीपुर–कालीमाटी–बोटेचौर सडक कालोपत्रेको काम सुरु भएको झन्डै ५ वर्ष बित्न लाग्दा पनि काम अलपत्र पारेको छ ।

२४ किलोमिटर कालोपत्र गर्ने गरी सडक डिभिजन कार्यालय दाङले २०७४ मा टेन्डर आह्वान गरेको उक्त योजनामा ३ वर्षभित्र काम सक्ने गरी कालिका कन्स्ट्रक्सन जेभीले सम्झौता गरेकाे थियाे । तर ५ वर्ष समय बित्न लाग्दा अहिलेसम्म ६ किलाेमिटर मात्रै सडक कालाेपत्रे भएकाे छ ।

कालोपत्रे गर्ने भनिएको २४ किलोमिटरको सबै खण्ड सल्यान कालिमाटी गाउँपालिका क्षेत्रमा पर्छ । दाङ-सल्यानको सिमाना एक्लेबर देखि सल्यान-सुर्खेतको सिमाना काल्चेडाँडासम्मको २४ किलोमिटर मध्ये अहिलेसम्म ६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ ।

अहिलेसम्म सडक निर्माणका लागि २ पटक म्याद थप गरे पनि कालिका कन्स्ट्रक्सनले ६ किलोमिटर मात्रै सडक कालोपत्रे गरेको हाे । २०७७ असारभित्रै सकिनुपर्ने योजनामा कोरोनाको कारण देखाउँदै पहिलोपल्ट २०७८ पुस २० गते ६ महिनाका लागि र दोस्रो पटक २०७९ असार २० देखि एक वर्षका लागि म्याद थप गरेको छ ।

दाेस्राे पटककाे म्याद अनुसार उसले अब २०८० असार १८ सम्म सबै काम सिध्याउनुपर्नेछ । जसका लागि सडक डिभिजन कार्यालयले ४४ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ । कालिका कन्स्ट्रक्सनले अन्य पेटी ठेकेदारहरुलाई कामको जिम्मा दिएर कालोपत्रको काम अलपत्र पारेको स्थानीयहरु बताउँछन् ।

अहिलेसम्म कालोपत्रे भएको एक्लेबर देखि पुतलीबजारसम्मको ६ किलोमिटर सडकको काम पनि गुणस्तरीय नभएको स्थानीय स्थानीयहरु बताउँछन् । कतिपय स्थानमा कालोपत्रसमेत उप्किएर खाल्डाखुल्डी समेत परेका छन्। सडक डिभिजन कार्यालयका सूचना अधिकारी रिकेश महर्जनले ठेकेदारले इन्धन र निर्माण सामग्रीको मूल्य बढेको, कामदार नपाइएको, सामान समयमै नपुगेको लगायत कारण देखाउँदै म्याद थपिरहेको बताए ।

दाङदेखि काेहलपुर हुँदै सुर्खेत जानुपर्दा झण्डै २ सय किलोमिटर दूरी पर्छ भने तुलसीपुर–कालीमाटी हुँदै सुर्खेत जाँदा १ सय ३२ किलाेमिटरकाे दुरी पर्छ । यहाँ समयमै काम सम्पन्न गर्न नसक्दा वर्षाको समयमा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment