राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पार्टीको प्रवक्ताबाट हटाएको छ। राप्रपाले विज्ञप्ति जारी गर्दै केन्द्रीय कमिटी बैठकले शाहीलाई प्रवक्ताबाट हटाएको जानकारी दिएको छ । प्रवक्ताको जिम्मेवारी मोहन श्रेष्ठलाई दिएको राप्रपाले जनाएको छ।
विज्ञप्तिमा भनिएको, ‘ज्ञानबहादुर शाहीलाई पार्टी प्रवक्ताबाट पदमुक्त गरी प्रवक्ता तथा प्रचार प्रसार विभाग मोहन श्रेष्ठलाई लाई जिम्मेवारी दिइएको छ ।’ राप्रपाले आजै शाहीलाई संदीय दलको प्रमुख सचेतक बनाएको छ। संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक बनाएका हुन्।
यो पनि -सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।यसअघि सरकार विस्तार नहुन्जेल प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको थियो ।
यो पनि – मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।
यो पनि -उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन् ।वुधबार सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसंगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाँउमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अब गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताएका हुन् ।
उनले विदेशमा भएका नेपालीहरुको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताए । नेपालमा लगानीका लागि गैरआवासीय नेपालीहरुको कानूनी र व्यवहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उनले बताए ।
उनले नागरिकताका बिषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पत्तिको हकको विषय पनि टुङ्गिने जिकिर गरे ।भेटवार्तापछि संघका अध्यक्ष कुल आचार्य गैरआवासीय नेपालीका नागरिकता, भिसा, एयरपोर्टमा देखिने समस्यालगायत नेपालको विकासमा साझेदारी गर्ने बिषयमा छलफल भएको र समस्यालाई समाधान गर्ने प्रतिवद्धता गृहमन्त्रीले व्यक्त गरेको जानकारी व्यक्त गरे ।
संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघले गृहमन्त्री लामिछानेलाई ज्ञापन पत्र पनि बुझाएको थियो ।
Leave A Comment